(१) इजाजतपत्र प्राप्त कुनै व्यक्तिले कुनै चलचित्रको प्रदर्शन गर्नु अगावै
तोकिएको ढाँचामा चलचित्र जाँच समितिका समक्ष दरखास्त दिनु पर्नेछ र सो समितिले पनि सो
चलचित्र जाँच गरी देहाय बमोजिम अनुमति दिन वा नदिन सक्नेछ ।
(क) कुनै शर्त नतोकी सो चलचित्र सार्वजनिक प्रदर्शन गर्न अनुमति दिने, वा
(ख) सो चलचित्रमा कुनै काँट छाँट वा हेरफेर गरेर वा अन्य कुनै शर्त
बन्देजको पालन गरेर मात्र सार्वजनिक प्रदर्शन गर्न पाउने गरी अनुमति
दिने, वा
(ग) सो चलचित्र १६ वर्ष नाघिसकेका वयस्कलाई मात्र सार्वजनिक प्रदर्शन
गर्न पाउने शर्त तोकी अनुमति दिने, वा
(घ) सो चलचित्र सार्वजनिक रुपमा प्रदर्शन गर्न अनुमति नदिने ।
(२) चलचित्र जाँच समितिले उपदफा (१) को खण्ड (ख), (ग) वा (घ) अन्तर्गत अनुमति
दिने वा नदिने निर्णय गर्नु अगावै दरखास्तवालालाई आफ्नो विचार व्यक्त गर्न मनासिब मौका
दिनु पर्छ ।
(३) कुनै चलचित्र वा त्यसको कुनै भाग ……….. नेपाल ……….. को सुरक्षा,
शान्ति र व्यवस्था, मित्रराष्ट्रसंगको वा विभिन्न वर्ग वा जातिका बीचको सुसम्बन्धमा बिरोध पर्ने
वा सार्वजनिक हित, सदाचार वा नैतिकताको प्रतिकूल असर पर्ने वा कुनै व्यक्ति विशेषको मान
हानी वा अदालतको अवहेलना हुने वा लैङ्गिक हिंसालाई बढावा दिने वा कुनै अपराध गर्न
दुरुत्साहन दिने किसिमको देखिएमा त्यस्तो चलचित्रलाई प्रदर्शन गर्न चलचित्र जाँच समितिले
अनुमति दिने छैन ।
तर चलचित्रको कुनै भागको काँट छाँट वा हेरफेर गरेर प्रदर्शन गराउँदा यस उपदफाको
प्रतिकूल नहुने देखिएमा चलचित्र जाँच समितिले आवश्यकता अनुसार काँटछाँट वा हेरफेर गरी
प्रदर्शन गर्ने अनुमति दिन सक्नेछ ।
(४) चलचित्र जाँच समितिबाट प्रदर्शन गर्न अनुमति प्राप्त भइसकेको चलचित्र नेपाल
सरकारको विचारमा उपदफा (३) को प्रतिकूल असर पर्न सक्ने किसिमको छ भन्ने लागेमा नेपाल
सरकारले जुनसुकै बखत त्यस्तो चलचित्र प्रदर्शनलाई रोक्न वा आवश्यक देखे बमोजिम काँट
छाँट वा हेरफेर गरी प्रदर्शन गर्न आदेश दिन सक्नेछ ।
(५) यस दफा बमोजिम चलचित्र जाँच समितिले गरेको निर्णयबाट मर्का पर्ने व्यक्तिले सो
निर्णय भएको मितिले पैंतीस दिनभित्र नेपाल सरकार समक्ष पुनरावेदन दिन सक्नेछ ।